मनोरञ्जन

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा

१४ भदौ, काठमाडौँ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएका छन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गरेका हुन् ।

उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुनुहुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए । “अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ”, उनले भने, “उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।”

अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तक्र्रिया गर्नुहुने कार्यतालिका रहेको शाहले बताए । भदौ १५ गते (शुक्रबार) देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।