२२ भदौ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि कानून र नीति निर्माणमा जोड दिएको बताएका छन् ।
जनपत्रकार सङ्गठनका केन्द्रीय पदाधिकारीसँगको भेटमा उनले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानूनको परिमार्जन र आवश्यक कानून निर्माणको गृहकार्यमा रहेको बताए ।
सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना कानून रहेको उल्लेख गर्दै उनले पुराना कानूनको समयानुकूल परिमार्जन र नयाँ कानून निर्माणमा ध्यान दिइएको बताए ।
मन्त्रालयले विज्ञहरूको टोली नै बनाएर राय सुझावसहितको प्रतिवेदन प्राप्त गरिसकेको उल्लेख गर्दै उनले आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल र पत्रकारिता प्रशिक्षण प्रतिष्ठान विधेयकको मस्यौदामा छलफल भइरहेको जानकारी दिए ।
पुरानो कानूनले अनलाइन मिडियालाई नचिन्ने तर अहिले अनलाइन मिडियाको प्रभाव बढिरहेकाले अनलाइन पत्रकारिताको कानूनी आधार तयार पार्नेतिर मन्त्रालय लागिरहेको पनि मन्त्री शर्माले जानकारी दिए । नयाँ ऐन बन्न समय लाग्ने भएकाले अनलाइन मिडियालाई कानूनी मान्यता प्रदान गर्न सजिलो होस् भनेर केही नेपाल ऐन संशोधनमार्फत अघि बढाउन खोजिएको पनि उनले स्पष्ट गरे ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग बढिरहेकाले यसको स्वनियम, सचेतना र नियमनका लागि मौजुदा कानूनको आधारमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका बनाउन थालिएको मन्त्री शर्माले जानकारी दिए ।
सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित गर्न ऐन नै आवश्यक देखिए पनि अहिलेका लागि यसबाट हुनसक्ने क्षति रोक्न सचेतना र स्वयिनमनलाई जोड दिएर निर्देशिका तयार पारिएको र चाँडै मन्त्रिपरिषद्बाट पारित हुने उनले बताए ।
साइबर स्पेसको सुरक्षित प्रयोगका लागि नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति, २०८० जारी गरिएको जानकारी दिँदै अब साइबर सुरक्षा ऐन र साइबर सुरक्षा केन्द्र निर्माणका लागि बाटो खुलेको मन्त्री शर्माले जानकारी दिए ।





