साहित्य

बुवा !

-सुबिन बिश्वकर्मा -कविता

……..
बुवा, हामी फेरि कहिले भेट्छौ ?
जब आकाश रुन्छ, पानीका थोपाहरू भुइँमा खस्छन्,
प्रत्येक थोपाहरू गन्दै हाम्रो भेट हुने दिनहरू सम्झिँन्छु,
जब एक्लो महसुस गर्छु,
खुइया गहिरो श्वास लिएर तिमीलाई सम्झिन्छु !
बुवा, मलाई तिमी बसेको ठाउँ हेर्न मन छ….
कस्तो छ अहिले तिमीलाई ?
कत्तिको खाना रुच्दैछ ?
दम बढेको छ घट्दैछ ?
तिमी खुसी नै छौ नि है ?
बुवा, मलाई धेरैकुरा बुझ्न मन छ !
मेरो त के रह्यो र ?
तिमी थियौँ र पो संसार थियो,
संसार जित्ने उन्माद तागत थियो,
लाग्थ्यो….
मेरो साथमा त बुवा हुनुहुन्छ, मलाई के हुन्छ र ?
तर, अब ?
अब त के रह्यो र, बुवा ?
भित्तामा झुन्डिएका केही थान तिम्रा तस्वीरहरू छन्
जो तिमीलाई बिर्साउने बहाना बनेका छन्,
तिमीसँग बात मार्ने सारथि बनेका छन्,
अनि प्रत्येक बिहानको पहिलो किरण र रातको अन्तिम श्वाससँगैका सहरा बनेका छन् !
केवल अदृश्य रूपले प्रेम गर्ने तिम्रो त्यो अनौठो तरिका
पहिला त बुझ्नै समय लागेको थियो मलाई,
जब तिम्रो अदृश्य प्रेम बुझ्न थालेँ,
अनि मलाई नै छोडेर कहाँ गयौं, बुवा ……..?
बुवा, जब तिमी ढल्यौ
लाग्यो…
अब केही रहेन, सर्वर्श्व गुम्यो, सबथोक रित्तियो,
अनि म एक्लो भएँ,
र, तिमी हैन, तिम्रा यादहरू बाँकी रहे, सधैंसधैंका लागि !
बुवा, तिमीलाई मेरो याद नआउने हो र ?
कत्तिपनि मलाई सम्झिएको छैनौं र ?
बुवा, तिमी किन यसरी निष्टुरी हुनसक्छौ हँ ?
तिमीलाई छुँदैन र, बुवा ?
मध्यरातसँगैको
सपनीमा तिमीलाई सम्झिँएर बर्बरिँदै गर्दाको मेरो पीडाले ?
मेरा ती ऐठनहरूबाट निस्किएका चिच्याहटहरूले ?
अनि तिमीलाई छुँदैन र, बुवा ?
ुबुवाको मुख हेर्ने दिनुका रातहरूमा
यी आँखाहरूबाट झरेका निर्दोष आँसुहरुले ?
जब म लड्छु
मलाई लाग्छ…..
मलाई मेरा बुवाले हेरिराुको छन्
अनि फेरि उठ्छु,
आखिर मेरो तागत भन्नू पनि तिम्रो याद मात्र त रह्यो नि बुवा
बुवा, मलाई यादै छैन…..
नजानेर कयौंपटक तिम्रा काँधहरू भिजाएको हुँदो हुँ,
जुनदिन तिम्रा आँखाका परेलीहरू भिज्न नदिने प्रण गरेँथ्ये,
तिमी त मलाई नै छोडेर पो गयौं,
आखिर मलाई एक्लो–एक्लो बनाएर छोडेर किन गयौं बुवा ?
बाचुन्जेल खुब चिन्ता गर्यौं मेरो
समिपमा हुँदा केही भन्न सक्थेनौं,
पर जान्थ्यौं…
एक्लै मुख छोपेर रुन्थ्यौं !
मलाई याद छ नि बुवा…..
केही गरि मेरा आँखाका परेलीहरू भिज्दा
तिमीमा किन थियो …?
त्यो छट्पटी !
त्यो बैचनी !
त्यो उकुसमुकुस !
हो, आज म सब बुझिरहेछु, बुवा !
खै, यौटा जिन्दगी हुनलाई के हुनुपर्छ कुन्नी !
म तिमीबिनाका दिनहरू विल्कुल रित्तो–रित्तो महसुस गर्छु
त्यो अनौबिनाको हलोजस्तो,
मानीबिनाको जाँतोजस्तो,
नानीबिनाको आँखाजस्तो,
खै, कस्तो–कस्तो ?
कैलेकाही जीवनमा थुप्रै पुगेकोजस्तो भ्रम पलाउँछ, बुवा
तर,
जब तिमीलाई सम्झिन्छु,
लाग्छ…
थुप्रै पुगेर पनि कसैको अभाव छ यहाँ,
त्यसपछि यो संसारनै अनायसै खल्लो–खल्लो लाग्छ यहाँ !
बुवा,
जहाँ छौं, जसरी छौं, खुसी रहनु
हामी चाँडै भेट्नेछौँ

२८ भदौ, २०८० ।