बाग्मती

उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दैगयोः योजनामन्त्री लामा


दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले नेपाल विकासबाट पछि पर्नुुमा उत्पादन नगर्ने तर हरेक बस्तु बाहिरबाट आयात गर्ने गर्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बताएका छन्। उनले नेपालमा जनैदेखि सियो–धागोसम्म पनि विदेशबाट ल्याउने गर्दा आर्थिक अवस्था बिग्रँदै गएको छ भने।

सदरमुकाम चरिकोटमा दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले आर्थिक सङ्कटको प्रमुख कारण विदेशी वस्तुमा रमाउदा र स्वदेशमा कामको सम्मान पनि नहुँदा समस्या उत्पन्न भएको हो भने । उनले राज्यबाट विनियोजित रकम यो सरकारको त होनी भन्ने मानसिकता तल्लो तहसम्म हुँदा देश कङ्गाल हुन लागेको उल्लेख गरे।

क्रसर उद्योग सञ्चालनमा ल्याउन गरिएकोे मागमा मन्त्री लामाले क्रसर खोल्न पाउने विभिन्न प्रावधान छ तर विदेशी नीतिको नक्कल गरेकै कारण देशका क्रसर सञ्चालनमा नआएको बताए । देशको भौगोलिक बनावटका आधारमा क्रसर सञ्चालन नीति बनाउनुपर्नेमा त्यो नहुँदा समस्या उत्पन्न भएको उनले जोड दिए ।