अन्तर्राष्ट्रिय

गाजा युद्धले ‘विनाशकारी’ स्वास्थ्य प्रभाव परिरहेको छ: डब्लुएचओ प्रमुख


जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले प्यालेस्टिनी क्षेत्रमा स्वास्थ्य अवस्थाबारे छलफल गर्नका लागि डब्लुएचओ कार्यकारी बोर्डको विशेष सत्र बोलाएको छ । छलफलमा डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ‘असम्भव’ कामको सामना गर्ने चिकित्सकहरू सँग गाजामा बिग्रँदै गएको स्वास्थ्य प्रणालीबारे जानकारी दिए।

“स्वास्थ्यमाथि द्वन्द्वको प्रभाव विनाशकारी छ”, जेनेभामा भएको बैठकको प्रारम्भमा उनले भने “धेरैभन्दा धेरै मानिस साना – साना क्षेत्रमा गइरहँदा भीडभाड, पर्याप्त भोजन, पानी, आश्रय र सरसफाईको कमीले रोग फैलिने स्थिति उत्पन्न भइरहेको छ ।”

टेड्रोसले महामारीसम्बन्धी रोगका चिन्ताजनक लक्षणहरू रहेको भन्दै बिग्रँदै गएको अवस्था र चिसोको अवस्थाले जोखिम अझ बढ्ने आशङ्का रहेको उल्लेख गरे। “गाजाको स्वास्थ्य प्रणालीले घुँडा टेकेको छ र ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन्, तीमध्ये दुई वटा मात्र तटीय क्षेत्रको उत्तरमा छन्”, उनले भने ।

उनले अस्पतालहरूमा तीन हजार पाँच सय शैय्यामध्ये एक हजार चार सय शय्या अहिले पनि उपलब्ध रहेको बताए भयो । उनका अनुसार दक्षिणी गाजाका दुई प्रमुख अस्पतालले आफ्नो शय्या क्षमताभन्दा तीन गुणा अधिकमा काम गरिरहेका छन् । आपूर्ति सकिँदै गइरहेको छ र हजारौँ विस्थापितलाई ती अस्पतालले आश्रय दिइरहेका छन् ।

हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको इजराइली अधिकारीहरूले बताएका छन् । इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १७ हजार सात सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेड्रोसका अनुसार डब्लुएचओले अक्टोबर ७ पछि गाजा र कब्जा गरिएको पश्चिम किनारमा स्वास्थ्य सेवामा चार सय ४९ भन्दा धेरै हमला र इजराइलमा स्वास्थ्य सेवामा ६० हमला भएको पुष्टि गरेको छ ।

“स्वास्थ्यकर्मीको काम असम्भव छ र उनीहरू सिधै हमलाको निशानामा छन्”, टेड्रोसले भने, “संक्षेपमा भन्दा स्वास्थ्य आवश्यकताहरू नाटकीयरूपमा बढेको छ र स्वास्थ्य प्रणालीको क्षमता पहिलाको तुलनामा एक तिहाइले कम भएको छ, शारीरिक तथा मानसिकरूपमा थकित भएका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न डब्लुएचओ गाजाको मैदानमा छ र अकल्पनीय अवस्थामा उनीहरूले आफ्नो उत्कृष्ट काम गरिरहेका छन् ।” टेड्रोसले निष्कर्ष निकाल्दै भने, “शान्तिबिना कुनै स्वास्थ्य छैन र स्वास्थ्यबिना कुनै शान्ति छैन ।”