समाचार

श्रमिकको अधिकार सुनिश्चित गर्न माग

१६ पुस, काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले विद्युत् कटौतीको समस्या देखाएर श्रमिकलाई काम गर्ने अधिकारबाट वञ्चित गराउन नहुने बताएको छ ।

युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपाल विद्युत् प्राधिकरण र विभिन्न उद्योग प्रतिष्ठानबीच विद्युत् महसुलको विषयलाई लिएर बिजुली कटौती हुँदा आम श्रमिक काम गर्ने अधिकारबाट वञ्चित हुनुपरेको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न उद्योग प्रतिष्ठान र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् महसुलको विषयलाई लिएर उद्योग, प्रतिष्ठानहरुमा बिजुली कटौतीका विषयलाई लिएर भएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“उद्योग, प्रतिष्ठानहरु बिजुलीको महसुल तिर्न नसक्ने भनिरहेका छन् भने प्राधिकरण जसरी पनि महसुल उठाउने भनिरहेको छ, उक्त घटनाक्रमले आम श्रमिकहरु मारमा पर्नुहुँदैन,” युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

युनियनले उद्योग प्रतिष्ठानहरु र प्राधिकरणबीच भएको विवाद के हो ? त्यसको सत्यतथ्य छानबिन र सरोकारवाला पक्षहरु समेतलाई राखी तत्काल समस्याको समाधान निकाल्न सरकारलाई अनुरोध गर्दै श्रमिकलाई काम गर्ने अधिकारबाट वञ्चित नगराउन सरकारसँग अनुरोध गरेको छ ।