राजनीति

सर्वभौम सत्ता रक्षाका लागि एकजुट हुन आवश्यक : पूर्वराष्ट्रपति यादव

२१ पुस, काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सबै मिलेर देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्ने बताएका छन । राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसर पारेर आज वीपी विचार राष्ट्रिय समाजले आयोजना गरेको ‘वीपी वाद’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उनले सबै मिलेर देश, जनता र देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति डा यादवले वर्तमान सरकारले देश र जनताको पक्षमा राम्रो काम गर्न नसकेको गुनासो गरे । उनले देशमा शिक्षा, स्वास्थ्य र कृषिको अवस्था दयनीय भएको उल्लेख गरे । देश निर्माणका लागि कसैलाई पनि अब पछि फर्किएर हेर्ने छुट नभएको उनको भनाइ थियो । उनले दैनिक हजारौँ मानिस विदेश गइरहेकोप्रति गुनासो व्यक्त गरे । पूर्वराष्ट्रपति डा यादवले देशको अस्तित्व कायम राख्नका लागि आम जनाता एकजुट हुन आग्रह गरे ।

समाजका अध्यक्ष एवं पूर्वमन्त्री गोविन्दराज जोशी, लक्ष्मण डा जयराज आचार्य, डा विपिन अधिकारी, लोकेश ढकाललगायत वीपीको मेलमिलाप नीतिको बारेमा चर्चा गरेका थिए ।