समाचार

हुण्डी कारोबार गर्ने दुई पक्राउ

२९ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका–४ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ महानगरपालिका–२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । प्रहरीले गौतमका साथबाट नेपाली रु १ हजार दरका ६ सय थान नोट, र रु ५ सय दरको चार सय थान नोट गरी रु आठ लाख बरामद गरेको छ । 

यसैगरी राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २ सय २ नंको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैङ्क तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम रु ७ लाख ९७ हजार र नगद नेपाली रु १ हजार दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी जम्मा रु पाँच लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडाँै पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।