प्रदेश 2

वीरगञ्जमा सडक अतिक्रमण गरी बनाइएको संरचना भत्काइयो

११ माघ, वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चौकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन् ।

केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएपछि सडक निर्माण अवरुद्ध भएको थियो । अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर संरचना भत्काएपछि सडक निर्माणको बाटो खुलेको छ ।

महानगर प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेशकुमार यादवले बताए । उनका अनुसार रू ६९ लाख १५ हजारमा हुलाकी सडकको मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

ठेकेदार कम्पनीका सञ्चालक दीपु साहले अबको एक महिनाभित्रमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम थालिएको बताए । सडक निर्माणका लागि अवरोधका रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) काम सुरु गरिएको उनको भनाइ थियो । “एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम काम अघि बढाएका छौँ”, उनले भने ।