समाचार

परिवर्तनलाई संस्थागत गर्न दलहरु लाग्नुपर्ने : महासचिव पोखरेल

२१ माघ, काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सहिदको अपेक्षाबमोजिम राजनीतिक आन्दोलन सफल बनाए पनि त्यसबाट नागरिकको जीवनमा परिवर्तन गर्ने सन्दर्भमा राजनीतिक दल चुकेका बताएका छन् ।

मदन भण्डारी बौद्धिक मञ्च नेपालले शहीद दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘सहादतको मर्म’ विषयक छलफल कार्यक्रममा उनले दलहरु राजनीतिक परिवर्तनका लागि अग्रपङ्क्तिमा रहे पनि त्यसलाई संस्थागत गर्न चुकेका बताए ।

कार्यक्रममा वक्ताहरुले शहीदको सपनालाई साकार पार्न जनताका अपेक्षाबमोजिम राजनीतिक नेतृत्वले काम गर्न नसकेको बताए । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले शहीदका नाममा दलीय र स्वार्थको राजनीति गर्नु वाञ्छनीय नहुने बताउँदै विद्यमान नेतृत्वले आफूले काम गर्न नसकेमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायका पूर्वडिन डा त्रिरत्न मानन्धरले पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँ पुस्ताले जिम्मेवारी लिन तत्पर हुनुपर्नेमा बताए ।