समाचार

प्रतिनिधिसभा बैठक: शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

२ चैत, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले सहकारीपीडितका समस्यादेखि विकास निर्माणका काममा ढिलाइ भइरहेकोलगायत विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अजयकुमार चौरसियाले सहकारीबाट ठगिएका पीडितहरु आन्दोलनमा रहेको विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद अञ्जनी श्रेष्ठले चाँडो चाँडो सरकार परिवर्तन हुँदा नागरिक तहबाट सरकार र राजनीतिक दलमाथि विश्वास घट्दै गएको धारणा राखिन् । सांसद अनिशा नेपालीले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा महँगो ब्याज र चर्को सेवा शुल्क लिएको विषयमा नियामक निकायको ध्यानाकर्षण गराइन् ।

सांसद अब्दुल खानले सरकारी स्वास्थ्य सेवा प्रवाह कमजोर रहेको विषय उठाए । बाँके जिल्लाको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु निजी क्लिनिकमा काम गर्ने गरेको आरोप पनि उनले लगाए । सेवाग्राहीले सहज रुपमा उपचार सेवा नपाएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमनलाल मोदीले बजेट अभावका कारण हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भइरहेको विषय उठाए । काठमाडौँको रत्नपार्कस्थित खुलामञ्चलाई अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्ने नभई त्यसलाई खुला राखिनुपर्ने धारणा उनले राखे ।

सांसद अम्बिका बस्नेतले इपिएस कोरियाका परीक्षार्थीले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग राखिन् ।

सांसद अम्मरबहादुर थापाले वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमअन्तर्गतका ठेक्का समयमा लाग्न नसक्दा विकासका काममा अवरोध भइरहेको बताए । काम गरेका निर्माण व्यवसायीले भुक्तानी नपाएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराए ।

पछिल्लो समय लागुऔषध ओसारपसार र त्यसको कारोबार बढेको विषय सांसद अमरेशकुमार सिंहले संसद्मा उठाए । विदेशी नागरिक पनि लागुऔषध कारोबारमा लागिरहेको उनको भनाइ छ ।

सांसद अमृतलाल राजवंशीले झापा, मोरङ, सुनसरीलगायत जिल्लामा हात्तीको आक्रमणमा परी पछिल्लो छ महिनामा छ जनाको ज्यान गएको विषय उठादै यो समस्या समाधानका लागि सरकारसँग माग गरे ।

कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने माग सांसद अमृतादेवी अग्रहरिले संसद्मा उठाए । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रलाई सरकारले पर्याप्त बजेट नछुट्याएको उनको भनाइ छ ।

तस्करी, अवैध कारोबारलगायत गतिविधिमा उच्चपदस्थ व्यक्तिहरु संलग्न भइरहेको धारणा सांसद अर्जुननरसिंह केसीले राखे । अवैध सुन कारोबारसम्बन्धी छानबिनका लागि गठन गरिएका हालसम्मका समितिका प्रतिवेदनहरु सार्वजनिक गरिनुपर्ने उनको माग थियो । एनसेल शेयर खरिदबिक्री प्रकरणबारे गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्नेमा उनले जोड दिइन् ।

सडक दुर्घटना बढिरहेको विषयमा सांसद अशोककुमार चौधरीले संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे । विभिन्न सडक खण्ड निर्माणमा ढिलाइ भइरहेको विषय पनि उहाँले संसद्मा उठाए ।

सांसद अस्माकुमारी चौधरीले चाँडो चाँडो सरकार परिवर्तन हुँदा नागरिकमा सरकारप्रति वितृष्णा जाग्दै गएको उल्लेख गदै यो सरकारले जनभावनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताए ।

सांसद असीम शाहले संसद्मा आफ्ना आसन परिवर्तन भए पनि भाषण परिवर्तन नहुने बताए । आफ्नो दल सत्तापक्षमा रहे पनि संसद्मा प्रश्न उठाउने र खबरदायी गर्ने दायित्व नबिर्सने उनले स्पष्ट पारे ।

सांसद ईश्वरबहादुर रिजालले दोलखा भीमसेन मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि स्थानीय तहबाट पहल भइरहेकामा सङ्घ र प्रदेश सरकारले पनि त्यसमा सहयोग र समन्वय गर्नुपर्ने बताए ।

रोल्पा जिल्लामा दुईवटा सुनखानी दर्ता भएकामा त्यसको उत्खननको प्रक्रिया अघि बढाउनुपर्ने धारणा सांसद ईश्वरी घर्तीले संसद्मा राखे । सांसद ईश्वरीदेवी न्यौपानेले पब्जी, फ्रिफायर जस्ता इस्पोर्टस्को प्रयोगले बालबालिकाको मनोविज्ञानमा ठूलो असर गरेको विषय उठाउदै यस्ता खेललाई व्यवस्थित गर्ने विषयमा सरकारको ध्यानाकर्षण गरे ।

सांसद उर्मिला थेवेले ताप्लेजुङ जिल्लाका वनमा डढेलो लागिरहेको र त्यसका नियन्त्रणको पर्याप्त प्रयास हुन नसकेको विषयमा ध्यानाकर्षण गराइन् । मुलुकको अर्थतन्त्रका तीनखम्बामध्ये एक सहकारी क्षेत्र धराशयी भइरहेको विषयमा सांसद उर्मिला माझीले सरकारको ध्यानाकर्षण गरिन् ।

राजधानी जोड्ने मुख्य सडक नाकामध्ये नौबिसे–नागढुङ्गा–थानकोट खण्ड जीर्ण अवस्थामा रहेको विषय सांसद एकनाथ ढकालले उठाए । यो सडक तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गरिन् ।

सुन तस्करी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका विषयलाई सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न सांसद ऐनबहादुर शाही ठकुरीले माग गर्नुभयो । सहकारीपीडितका समस्यामा गम्भीर हुन पनि उनले सरकारको ध्यानाकर्षण गरे ।

संसद्भित्रै महिला सांसदलाई होच्याउने शब्द प्रयोग भएको विषयमा सांसद कल्पना चौधरीले ध्यानाकर्षण गराइन् । अहिलेको सरकारमाथि कानुनी र नैतिक प्रश्नहरु रहेको धारणा सांसद कान्तिका सेजुवालले राखिन् । अहिलेको सरकार गठनमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) देखिएको बताए ।

भmापाको दक्षिण पश्चिम क्षेत्रमा कन्काई नदीको कटानले समस्या सृजना गरेको विषय सांसद कालुराम राईले संसद्मा उठाए । सांसद किरणकुमार साहले स्थानीय निकायले बनाइरहेका कानुनमा एकरुपता हुन नसकेको बताए । आफ्नो बचत फिर्ताका लागि आन्दोलन गरिरहेका सहकारीपीडितको समस्या समाधानका लागि सांसद कुसुमदेवी थापाले सरकारसँग माग गरे ।

सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को रणनीतिक सडक निर्माणका लागि २० करोड विनियोजन भएको र ठेक्का समेत लागिसकेमा अहिले निर्माण व्यवसायी काम छोडेर बेपत्ता भएको बताए । काठमाडौँको स्युचाटारदेखि भीमढुङ्गासम्मको सडक निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनीलाई खोजिदिन उहाँले सरकारसँग आग्रह गरे ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको काममा ढिलाइ भइरहेको विषय सांसद गोकुलप्रसाद बास्कोटाले संसद्मा राखे । यो आयोजनामा लागत र समयसमेत बढिरहेको उल्लेख गदै अविलम्ब आयोजना सम्पन्न गर्नका लागि उनले माग गरे ।

मुलुकमा बेराजगारी बढेको विषय सांसद गोमा लाभ सापकोटाले संसद्मा उठाए । रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ताका लागि सरकारले उल्लेख्य पहल गर्न नसकेको उनको भनाइ छ ।

सांसद गङ्गा कार्कीले सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजन निःशुल्क हेर्न पाउनुपर्ने बताइन् । बर्खेबाली लगाउने बेला भइसक्दा रासायनिक मलको उपलब्धता के–कति छ भनेर सरकारले संसद्लाई जानकारी गराउन पनि उनले माग राखिन् ।

सांसद गङ्गाप्रसाद यादवले तराईका जिल्लामा आगलागीका घटना बढिरहेको र पीडितले राहत तथा क्षतिपूर्ति पाउन नसकेको बताइन् । मानव अङ्ग प्रत्यारोपणका लागि कानुनी जटिलता रहेको विषय उठाउदै सांसद चन्दा कार्की भण्डारीले यसमा सहजीकरणका लागि आग्रह गरिन् । मानव अङ्ग प्रत्यारोपणसम्बन्धी एकीकृत नीतिको आवश्यकता रहेको उनको भनाइ छ । सहकारी गुठी र अवैध सुन तस्करीमा लागेकाहरुलाई सरकारले संरक्षण गरेको आरोप सांसद चन्दा चौधरीले लगाइन् ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितले पर्याप्त राहत र पुनःस्थापना रकम पाउन नसक्दा हिउँदको समय कष्टकर रुपमा बिताएको र अहिले गर्मी तथा बर्षायाममा पनि समस्या भोग्नुपर्ने अवस्था रहेको धारणा सांसद चन्द्रबहादुर विश्वकर्माले राखे । पुनः निर्माणको काममा ढिलाइ गर्न नहुनेमा पनि उनले सरकारको ध्यानाकर्षण गरेका छन् ।