कर्णाली प्रदेश

कर्णाली नदीमा पुलबाट हाम फाल्ने युवकको शव भेटियो

१५ चैत, कैलाली । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो होली खेल्ने क्रममा कर्णाली पुलबाट हाम फालेका थिए । घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

उनको शव आज करिब ४ बजे टिकापुर नगरपालिका–२ सनकट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले राससलाई जानकारी दिए । होली खेलिरहेका युवाहरु फोटो खिच्ने भन्दै कर्णाली पुलमा पुगेका र त्यहाँबाट अकस्मात हाम फालेका थिए । सो पुलबाट हामफालेका अरु युवाहरु भने पौडी खेलेर पार लागेका थिए ।