प्रवास

जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

१० मङ्सिर, ललितपुर । जापान सरकारको सहयोगमा निर्मित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता यूताकाले ललितपुरको बागमती गाउँपालिका–२ माल्टाको कालीदेवी माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न छात्रावास भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हुन् ।

जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’ सीजीपी अन्तर्गत दुई करोड पाँच लाख लागतमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको राजदूत युताकाले बताए । छात्रावास हस्तान्तरण गर्दै राजदूत यूताकाले छात्रावास निर्माणमा सङ्लग्न सबैको प्रशंसा गरे । उनले छात्रावास निर्माण भइसकेपछि लामो दुरी तय गरेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

“यो छात्रावास भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न पाएकोमा म ज्यादै हर्सित छु, यसले यहाँका विद्यार्थीहरुको सुन्दर भविष्य निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो विश्वास छ”, राजदूत यूताकाले भने । उनले भूकम्पपछि क्षतिग्रस्त विद्यालयको कक्षा कोठा जापान सरकारको सहयोगमा पुनःनिर्माण गरिएको उल्लेख गरे ।

बागमती गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले जापान सरकार र राजदूतावासले पु(याएको योगदान चीरस्मरणीय हुने बताए । उनले विद्यालयको भौतिक विकास र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न पालिकाबाट हरसम्भव सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक महेशकुमार घिमिरेले टाढाबाट आउनुपर्दा विद्यार्थीहरु बीचमै पढाइ छाड्ने अवस्था आउने तथा छात्राहरु असुरक्षित भएको अवस्थालाई समाधान गर्न विद्यालयले अघि सारेको छात्रावास परियोजनालाई सफल र सार्थक बनाउन जापान सरकार र राजदूतावासले गरेको सहयोगको प्रशंसा गरे ।

यस विद्यालयले कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । प्रधानाध्यापक घिमिरेका अनुसार हाल विद्यालयमा एक सय ७८ छात्र र एक सय ७१ छात्रा गरी कूल तीन सय ४९ विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको विद्यालयमा कूल २१ शिक्षक तथा कर्मचारी सेवारत छन् ।