सुदूरपश्चिम

बैतडीमा मानवीय सहायतास्थल सञ्चालन हुने

२७ माघ, बैतडी । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा मानवीय सहायतास्थल सञ्चालनका लागि पहल थालिएको छ । विपद्को समयमा गरिने खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यहाँ सहायतास्थल सञ्चालनको तयारी थालिएको हो ।

सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई विपद्को समयमा छिटो र प्रभावकारी रूपमा सहयोग पुर्‍याउने उद्देश्यले खोड्पेमा मानवीय सहायतास्थल सञ्चालनको तयारी थालिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उक्त सहयतास्थल सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी उपाध्याय नेतृत्वको टोलीले स्थलगत अनुगमन गरिसकेको छ । अनुगमनपश्चात् उनले भने, “मानवीय सहायतास्थलको स्थलगत अनुगमन गरेपछि थप तयारीका लागि समन्वय र सहयोग गर्न गृह मन्त्रालयलाई सिफारिस गर्नेछौँ ।”

उनका अनुसार प्रदेशका बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई विपद्को समयमा सहयोग पुर्‍याउने उद्देश्यले विश्व खाद्य कार्यक्रमअन्तर्गत सङ्घीय सरकारले दुई वर्षअघि खोड्पेमा मानवीय सहायतास्थल स्थापना गर्ने योजना बनाएको थियो ।

प्रजिअ उपाध्यायका अनुसार सङ्घीय सरकारले दुई वर्षअघि योजना बनाए पनि केही सामग्री अभाव र प्रक्रियाका कारण सञ्चालनमा आउन सकेको छैन् । उक्त सहायतास्थल सञ्चालनमा ल्याउन थप संरचना निर्माण गर्नुपर्ने भएकाले सोका लागि पहल भइरहेको उनले जानकारी दिए ।

उनले भने, “विपद्को समयमा गरिने खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेर मानवीय सहायतास्थल सञ्चालनको लागि पहल थालेका छौँ, यसका लागि जिल्ला प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्नेछ । गृहले थप योजना, आवश्यक ढाँचासहित अनुमति दिएपछि अन्य प्रत्रिया अघि बढ्नेछ । ”सहायतास्थल गोदाम घरजस्तै रहेको भन्दै यहाँ चार वटा कन्टेनर रहने प्रजिअ उपाध्यायले जानकारी दिए । “यसभित्र घर बनाउन मिल्ने सामग्री हुन्छन् । विपद् जहिले, जहाँ पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि सहयतास्थल कुन अवस्थामा छ रु र कसरी व्यवस्थित गर्न सकिन्छ भने अनुमगन गरिएको हो”, उनले भने ।

प्रजिअ उपाध्यायले बैतडीका साथै बझाङ र दार्चुलाका लागि पनि यो स्थान पायकपर्ने भएकाले पाटन नगरपालिका–८ खोड्पे छनोट गरिएको जानकारी दिए । तीनवटै जिल्लामा आवश्यक पर्ने गोदाम घर, दुई वटा हेलिप्याट यहाँ रहने भन्दै यहाँबाट हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्न सहज हुने धारणा राखे ।

उनले भने, “विपद्को बेला उद्धार गर्ने सामग्री अभाव छ, राहत सामग्रीका लागि पनि गृह मन्त्रालयलाई अनुरोध गरेका छौँ । स्थानीय पालिकाबाट पनि सामग्री सङ्कलन गर्न सकिन्छ ।”

मानवीय सहयतास्थलको सुरक्षा प्रबन्ध प्रशासनले गर्ने र सञ्चालन व्यवस्थापनसम्बन्धी स्थानीय जनप्रतिनिधि र नागरिकसँग छलफल गरी योजना बनाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सरकारले बैतडीसहित देशका चार स्थानमा सहयतास्थल सञ्चालन गर्ने तयारी गरेको छ । बैतडीको खोड्पे, जुम्लाको खलङ्गा, महोत्तरीको बर्दिबास र तेह्रथुमको वसन्तपुरमा सहायतास्थल पूर्ण रूपमा सञ्चालनको तयारी भइरहेको छ ।