३ फागुन, काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । अर्थमन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ । मेयर आचार्यको अनुहारको भाग जलेको थियो । घटना लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।
अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एम्बुलेन्सबाट लगिएको थियो ।
महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए। महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।