समाचार

आन्दोलनरत शिक्षकहरूले गरे आम शैक्षिक हड्तालको घोषणा (विज्ञप्ति सहित)

२४ चैत, काठमाडौँ । शिक्षा ऐन जारी हुने पर्ने मागसहित काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भोली चैत २५ गतेदेखि देशभरका शैक्षिक संस्थामा आम हड्ताल घोषणा गरेका हुन्। 

विज्ञप्तिमा देशभरका सबै विद्यालयहरू बन्द गरी काठमाडौँको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षकहरूलाई आग्रह गरिएको छ। 

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ,’आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरूलाई आग्रह गर्दछौँ ।’

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० देखि निरन्तर आन्दोलनमा छन् । अहिले यो दोस्रो चरणको आन्दोलन चैत २० गते देखि सुरु भएको हो। 

उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलन भन्दै शिक्षकहरू काठमाडौँमा केन्द्रित भएका हुन्।