समाचार

शिक्षा ऐन जारी गर्न माग गर्दै कालो मास्क लगाएर शिक्षकहरूले गरे माइतीघरमा प्रदर्शन

२५ चैत, काठमाडौँ। चैत २० गतेबाट आन्दोलनमा रहेका शिक्षकहरूले आज मुखमा कालो मास्क लगाएर मौन विरोध प्रदर्शन गरेका छन्। सरकारसँग पहिलै भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू निरन्तर प्रदर्शन गरिरहेका छन्। 

 शिक्षकहरूले  कालो मास्क लगाएर काठमाडौँको माइतीघरमा जुलुस निकालेका हुन् । निरन्तर आन्दोलनमा रहेका शिक्षकहरूको माग सरकारले नसुने झैँ गर्दै आएको छ।  आफ्ना माग पुरा गराउन शिक्षक महासङ्घले आजबाट देशभरिका शैक्षिक संस्थाहरूमा आम हड्ताल समेत गरेको छ। 

यता सरकारको साझेदारी दल नेपाली काँग्रेस पनि शिक्षकहरूको आन्दोलनलाई समर्थन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि विज्ञप्ति नै निकालेर माग पुरा नहुँदासम्म शिक्षकहरूलाई आन्दोलन नछोड्न आग्रह गरेको छ।  उसले संसद्को विशेष  अधिवेशन बोलाएर भए पनि शिक्षकको माग पुरा गर्नु पर्ने बताइसकेको छ।