समाचार

४ महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

१४ साउन, काठमाडौँ । गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १ सय ४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १ सय२४ घर परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य २ हजार ४ सय ५६ घटना भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा २ सय ४३ वटा चट्याङको घटना रेकर्ड भएको छ । चट्याङमा परेर २८ जनाको ज्यान गएको छ । एक सय ६९ जना घाइते हुँदा चट्याङका कारण २ सय ८३ घरपरिवार प्रभावित भएका छन् ।

सो अवधिमा सर्पदंशका ६६ घटना हुँदा ८ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै एक सय ३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ । कूल ६२ जना घाइते हुँदा २ सय छ परिवार प्रभावित भएका छन् । लेक लागेर १२ जना, हावाहुरीका कारण १२ जनाको ज्यान गएको छ ।

यस्तै, पहिरोका मात्रै २ सय ४१ घटना हुँदा १२ जनाको निधन भएको छ । हावाहुरीका कारण २ सय ७६ घटना हुँदा ८ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मंगलबार मात्रै बाढीका ८, पहिरोका १६, आगलागीका ५, जनावर आक्रमणका ३ घटना भएका छन् ।