राजनीति

भिजिट भिसा प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन नरोक्ने रास्वपाको निर्णय‍

१५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति नबनेम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताएका हुन् ।

बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन अघि बढाउने निर्णय गरेको उनले बताएका छन् । यस्तै बैठकले भूमि, निजामति, शिक्षा लगाएतका विधेयकमाथि संसदको क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा शसक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले बताएका छन् ।

बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठ्यारा लगायतलाई सदनममा लैजाने निर्णय गरेको छ । प्रवासी नेपालीहरूको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसंँग रास्वपाले माग गरेको छ । यो बैठक बस्नुअघि सांसद सोविता गौतमसहितले भैरहवा जेलमा रहेका पार्टी सभापति रवि लामिछानेसँग संवाद पनि गरेका थिए ।