२० साउन, काठमाडौं। बागमती प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउनका लागि नेकपा एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
एमालेले मंगलबार पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमा एक जना दोहोरिएका छन् । ५ जना नयाँलाई पठाउने एमालेले निर्णय गरेको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर रहेका छन् । मगर सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएको एमालेले जनाएको हो ।
एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपंक्षी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा.दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।
मुख्यमन्त्री बहादुरसिंह तामाङले राजीनामा दिएपछि मंगलबार कांग्रेसकै बानियाँ मुख्यमन्त्री बन्ने भएका हुन् । कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएपछि तामाङले पार्टीको दबाबमा राजीनामा दिएका थिए । तामाङले राजीनामा दिनुअघि नै बानियाँ दलको नेतामा विजयी भएका थिए ।





