२० साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
निरन्तर रुपमा नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले मंगलबार फेरी हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस अघि गत वैशाख ९ गते पनि सुनको मूल्यले उच्च मूल्यमा कारोबार भएको थियो । सोही दिन छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोही मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला ६ सय रुपैयाँले बढी हो । सोमबार सुन तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।सोमबारको तुलनामा मंगलबार १ हजार ९ सय रुपैयाँ बढी भएको महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको हो । चाँदी मंगलबार तोलामा २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार तोलामा २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ३ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





