राजनीति

कुलिङ पिरियड प्रकरणः सभापति खतिवडाको बारेमा पार्टीले आवश्यक निर्णय लिन्छ: महामन्त्री शर्मा

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको बारेमा पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।

महामन्त्री शर्माले बुधबार संचारकर्मीसँग कुरा गर्दै खतिवडाको बारेमा संसदीय विशेष समितिले संघीय संसदमा पेश गरेको प्रतिवेदनको मर्मलाई दृष्टिगत गरेर पार्टीले आवश्यक निर्णय लिने बताएका हुन् । ‘कुलिङ अफ पिरियड’ को प्रावधानमा भएको चलखेलप्रति समितिले सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको हो ।

समितिले खतिवडाको भूमिकामाथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नुपर्ने कांग्रेसभित्र र बाहिरबाट आवाज उठिरहेको छ । तर महामन्त्री शर्माले सभापति खतिवडाको बारेमा पार्टीले चाल्ने कदमका विषयमा पार्टीभित्र छलफल हुने र प्रतिवेदनको मर्म बमोजिम निर्णय गरिने बताएका हुन् ।