२६ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकता सम्बन्धी कानूनलाई संशोधनअघि बढाइएको दावी गरेका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सोमबार नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले यस्तो दावी गरेका हुन् । सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै उनले आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिएका छन् ।
उनले भनेका छन्,-'सन्तानको पहिलो संरक्षक आमा नै हुन् । आमाले यो मेरो सन्तान हो । त्यसको बुबाको पत्ता छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा त्यसको सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ । यसले आमा-महिलाको मात्रै हक स्थापित गरेको होइन । संविधानको सीमारेखाभित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो । सन्तानको पनि हक सुरक्षित गरिएको छ ।'
उनले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्थासमेत गरिएको बताएका थिए । नागरिकता नहुँदा अधिकांश बालबालिकाहरूले अध्ययन-वृद्धि विकासमा समस्या भएको उनको भनाइ छ । त्यसैगरी, अङ्गीकृत नेपाली नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थामा बाबुका आधारमा विदेशको नागरिकता नलिएको भन्ने नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकामा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी गराएका छन् ।
बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको मन्त्री लेखकले बताएका हुन् । आमाको नामबाट नागरिकता पाउने कुरालाई अहिले सरलीकृत गरेको उनको भनाइ छ ।
आमाका नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशनात्मक आदेश समेत दिएको अवस्थामा विधेयक अगाडि बढाएको मन्त्री लेखकले जानकारी गराएका थिए ।



