३ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार मध्यराति भक्तपुरको मध्यपुर थिमि स्थित निवासबाट प्रहरीले पक्राउ गरेका थिए। ठूलो संख्यामा पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घरको गेट नखुल्दा बलपूर्वक प्रवेश गरेर उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंको गिरफ्तारीपछि यसलाई ‘अनावश्यक र अभिव्यक्ति आधारित दमन’ भन्दै आलोचना भइरहेको छ। जेनजी अगुवा सुदन गुरुङ र संविधानविद् भीमार्जुन आचार्यद्वयले रातिको समयमा गरिएको पक्राउको औचित्यमाथि प्रश्न उठाएका छन्।
भीमार्जुन आचार्यले परिवारसँग रहेका व्यक्तिलाई मध्यरातमा पक्राउ गर्नु नागरिक शासनमाथिको ‘गम्भीर धब्बा’ भएको बताएका छन्। सुदन गुरुङले भने सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।
यता, प्रहरीले भने प्रसाईंलाई ‘कानुनविपरीतका अभिव्यक्ति’, ‘हिंसा भड्काउने प्रयास’ र ‘सार्वजनिक शान्ति भंग गर्ने गतिविधि’ का कारण पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।



