प्रवास

अमेरिकाबाट ३५ नेपाली फिर्ता, भिसा नियम उल्लङ्घन गर्ने विद्यार्थीसमेत समावेश

४ मंसिर, काठमाडौं। अमेरिकाबाट ३५ नेपाली फर्काइएका छन्, जसमा अधिकांश अवैध तरिकाले अमेरिका पुगेकाहरू रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

एसएसपी कृष्ण पंगेनीका अनुसार, फर्काइएका मध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेको भए पनि भिसा नवीकरण गरी काम गरेको पाइएपछि डिपोर्ट गरिएको हो। अर्का एक व्यक्ति भिजिट भिसामा अमेरिका गएर काम गरेपछि फिर्ता भएको बताए। बाँकी ३३ जना भने अवैध मार्गबाट अमेरिका पुगेका थिए र यसका लागि करिब ८० लाख रुपैयाँसम्म खर्च गरेका थिए।

फर्काइएकाहरूको अधिकांश रुकम र दाङ जिल्लाका रहेका बताइएको छ। उनीहरूले प्रहरीमा जाहेरी दिने इच्छा भने देखाएका छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूप्रति कडा नीति लागू गरेपछि, ट्रम्पको कार्यभार सम्हालेपछि २ सयभन्दा बढी नेपाली अमेरिका फिर्ता गरिएको जानकारी पनि पंगेनीले दिएका छन्।