आर्थिक

सुनको भाउ नयाँ रेकर्डमा, प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ

२९ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको भाउले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार मात्रै सुनको भाउले यसअघिको रेकर्ड तोड्दै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा सीमित थियो ।

यता चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीले यसअघि गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।