प्रदेश 2

मधेश सरकार विस्तारको तयारी, आजै थप मन्त्री नियुक्त हुने

२९ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जनमत पार्टीबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय बाँडफाँट गरी एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भएको हो ।

आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित मन्त्री नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकले आगामी पुस ४ गते मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णयसमेत गरेको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव गत मंसिर १९ गते ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मंसिर २१ गते पद तथा गोपनियताको सपथ लिँदै तीनजना मन्त्री नियुक्त गरेका थिए । जनमत पार्टीबाट महेशप्रसाद यादव अर्थमन्त्री बनेका छन् भने कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त छन् ।

सातदलीय गठबन्धनभित्र भागबण्डा नमिल्दा हाल दुई मन्त्री बिना विभागीय छन् । आज ती दुवैसहित अन्य दलबाट पनि प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री यादवले गरेका हुन् ।