बाग्मती

रास्वपाको समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु

१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ आवेदन दिएका आकांक्षी उम्मेदवारको छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। पार्टीले बिहीबार र शुक्रबार गोगंबुस्थित एक पार्टी प्यालेसमा ‘ब्लू प्रिन्ट संवाद’ र ‘शून्य समय’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

बिहीबार २०१ जना आकांक्षीले प्रस्तुति दिनेछन्। प्रत्येक उम्मेदवारलाई १० मिनेट ब्लू प्रिन्ट प्रस्तुतिका लागि र शून्य समयअन्तर्गत एक मिनेटमा कुनै एक विषयमा धारणा राख्नुपर्ने व्यवस्था गरिएको छ। समावेशी सिद्धान्त अनुसार दलित, आदिवासी, खसआर्य, मधेसी, थारू र मुस्लिम गरी ६ क्लस्टर छुट्याइएका छन्। प्रत्येक क्लस्टरमा तीन–तीन जना केन्द्रीय नेताले सहजीकरण गर्नेछन्, जसमा सोही क्लस्टरका प्रतिनिधि नेता पनि समावेश रहनेछन्।

पार्टीका अनुसार समानुपातिकका लागि कुल ४२० जनाले आवेदन दिएका छन्। सबैभन्दा बढी आवेदन खसआर्य क्लस्टरमा परेको छ भने त्यसपछि आदिवासी/जनजाति र मधेसी क्लस्टर छन्। भौतिक रूपमा उपस्थित हुन नसक्ने आकांक्षीका लागि भर्चुअल माध्यमबाट पनि छनोट प्रक्रिया सञ्चालन हुनेछ।

१२ र १३ पुसमा प्रारम्भिक मतदान गरिने छ। मोबाइल एपमार्फत हुने मतदानमा एक मतदाताले बढीमा ११० जना उम्मेदवारलाई मत दिन पाउने व्यवस्था गरिएको छ। उम्मेदवार छनोट समितिको सिफारिसअनुसार सहजीकरणका लागि केन्द्रीय समितिका सदस्यहरूलाई पाँच समूहमा विभाजन गरिएको छ भने वैकल्पिक व्यवस्थाका लागि छुट्टै समूह पनि गठन गरिएको छ। छनोट प्रक्रियाको अनुगमन उपसभापति डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले गर्नेछन्।