२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए आफू सबैभन्दा पहिले अधिवेशन हलबाट बाहिरिने उनले बताएका छन् ।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किँदै गएको बेला शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशनबारे उठिरहेका आशंकाहरूको जवाफ दिँदै उनले लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’
पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा यसअघि पत्रकार सम्मेलनमार्फत आह्वान भइसकेको छ । उक्त महाधिवेशनमा महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापा सहभागी हुने घोषणा गरिसकेका छन् ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय थापा र शर्मा पक्षका नेताहरूले जेनजी आन्दोलनपछिको बद्लिएको परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको तर्क गर्दै आएका छन् ।
विशेष महाधिवेशनको आवश्यकता प्रस्ट्याउँदै शर्माले बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको दायित्वलाई प्रमुख कारणका रूपमा अघि सारेका छन् । ‘आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन् ।
कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । सो अभियानमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेकाले कांग्रेस विधानअनुसार विशेष महाधिवेशन गर्नैपर्ने शर्माको दाबी छ । विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको उनले स्मरण गराएका छन् ।
हस्ताक्षर नगरेका महाधिवेशन प्रतिनिधिहरू पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने शर्माले स्पष्ट पारेका छन् । साथै, विशेष महाधिवेशनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नकारात्मक असर नपार्ने दाबी गर्दै उनले महाधिवेशनपछि चुनावी परिणाम अझ राम्रो आउने विश्वास व्यक्त गरेका छन् ।
‘मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिन्छ,’ शर्माले उल्लेख गरेका छन् । विशेष महाधिवेशनलाई उनले ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ गरिएको संकल्पका रूपमा लिन कार्यकर्तालाई अपिल गरेका छन् ।





