प्रदेश 2

मधेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिए

५ माघ, काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । उनले आज प्रदेशसभामा लिखित राजीनामा बुझाउनुका साथै जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका छन् ।

सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि आफ्नै नयाँ पार्टी दर्ता गराइसकेका छन् । उनका दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गरिएको छ र सोही पार्टीबाट उनी उम्मेदवार बन्ने तयारीमा छन् ।

सिंह २०७९ को प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । जनमतले उनलाई प्रदेशसभा अर्थ समितिको सभापति र पछि मधेश प्रदेशको मुख्यमन्त्रीसमेत बनाएको थियो ।

तर ‘जेनजी आन्दोलन’का क्रममा उनले पार्टी अध्यक्ष डा. सीके राउतको निर्देशनमा फेसबुकमार्फत राजीनामा घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । पछि उनले अडान फेरे पनि जनमतले समर्थन फिर्ता लिएपछि पार्टीसँगको सम्बन्ध चिसिएको थियो । त्यसयता उनी पार्टीभित्र असन्तुष्ट रहँदै आएका थिए ।

यसअघि सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष थिए । ४३ वर्षीय सिंह सोही गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।