९ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले इतिहासकै नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ नाघ्दै ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, साथै अमेरिकी डलरको भाउ महँगिनुजस्ता कारणले नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
सुनको मूल्य यसरी बढ्दा गहना व्यवसायमा असर परेको व्यवसायीहरूको भनाइ छ । महँगो मूल्यका कारण ग्राहक घट्दै गएका छन् भने सामान्य उपभोक्ताले सुन खरिद गर्न कठिनाइ महसुस गरिरहेका छन् ।
विशेषज्ञहरूका अनुसार यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर नहुने हो भने निकट भविष्यमा सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।





