माघ २३, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत पीएचडी उपाधि हासिल गरेका ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल ३ हजार ४०६ उम्मेदवार रहेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। पीएचडीधारी उम्मेदवारमध्ये १० जना स्वतन्त्र र ४५ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन्।
दलगत रूपमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैभन्दा बढी ९ जना पीएचडीधारी उम्मेदवार रहेका छन्। यसैगरी नेपाल कम्युनिस्ट पार्टीबाट ७ जना, नेपाली कांग्रेसबाट ५ जना, नेकपा एमालेबाट ३ जना र जनता समाजवादी पार्टी नेपालबाट ४ जना उम्मेदवार चुनावी मैदानमा छन्।
त्यसैगरी जनमत पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा पनि पीएचडी उपाधि हासिल गरेका व्यक्तिहरूले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पीएचडीधारी उम्मेदवारहरूको उल्लेखनीय उपस्थितिले शिक्षित र प्राज्ञिक व्यक्तित्वहरूको राजनीतिप्रति बढ्दो आकर्षण देखाएको छ।





