काठमाडौं, १८ फागुन । फागुन २१ गते तय गरिएको निर्वाचनलाई लक्षित गर्दै मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरू देशभरका मतदान केन्द्रतर्फ परिचालन भएका छन्। निर्वाचन आयोग ले सोमबार अपराह्नसम्म सबै कर्मचारीलाई सम्बन्धित केन्द्रमा पुगिसक्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार दुर्गम तथा विकट क्षेत्रमा रहेका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको टोली यसअघि नै पुगिसकेको छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका सडक सुविधा नपुगेका स्थानलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरिएको थियो। सदरमुकामबाट टाढा रहेका करिब तीन सय केन्द्रमा आइतबारसम्म टोली पुगिसकेको जानकारी आयोगलाई प्राप्त भएको छ।
सडक सुविधा पुगेका तथा शहरी र तराई क्षेत्रका मतदान केन्द्रहरूमा भने सोमबार अपराह्नसम्म सबै कर्मचारी पुगिसक्ने अपेक्षा गरिएको छ। मतदान अधिकृतहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतपत्र लगायतका सामग्री बुझ्नेछन्। सामग्रीको सुरक्षाको जिम्मा नेपाल प्रहरीले लिएको छ भने २४ सै घण्टा निगरानी गर्न निर्देशन दिइएको छ।
मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृतले चारकिल्ला तोकिएको सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने तथा प्रचारप्रसार निषेध गरिएको जानकारी सार्वजनिक गर्नेछन्। त्यसपछि मतदान केन्द्रको भौतिक संरचना तयारी, आवश्यक कागजी प्रक्रिया तथा मतपेटिकासम्बन्धी मुचुल्का तयार गर्ने काम अघि बढाइनेछ।
निर्देशिका अनुसार प्रत्येक वडामा कम्तीमा एउटा मतदान केन्द्र रहने व्यवस्था छ। एक केन्द्रमा एक हजारभन्दा बढी मतदाता राख्न नपाइने प्रावधान छ। मतदाता संख्या बढी भएमा एउटै मतदान स्थलभित्र क, ख, ग गरी छुट्टाछुट्टै केन्द्र तोकिनेछ, तर एउटै स्थानमा सातभन्दा बढी केन्द्र राख्न पाइँदैन।
मतदान सम्पन्न भएपछि सर्वपक्षीय प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ। मतपेटिका सुरक्षित रूपमा हस्तान्तरण भएपछि मात्रै मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुनेछ।
आयोगले तोकिएको मितिमा शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गर्न सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।





