२० फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँमा झरेको छ ।
पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढावले बजारमा खरिद–बिक्री गतिविधिमा समेत प्रभाव पार्ने देखिएको छ ।





