११ चैत, काठमाडौं । ललितपुरको नख्खु कारागारमा भदौ २४ गते भएको हिंसात्मक घटनाबारे नयाँ विवरण सार्वजनिक भएको छ। कारागारका जेलर सत्यराम जोशीले आन्दोलनकारी भीडको दबाबमा आफूलाई अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन्।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन हालसम्म औपचारिक रूपमा सार्वजनिक नभए पनि त्यसका अंशहरू सञ्चारमाध्यममार्फत बाहिरिएका छन्। सार्वजनिक विवरणअनुसार जोशीले आयोगसमक्ष दिएको बयानमा उक्त दिनको घटनाक्रम निकै त्रासपूर्ण रहेको उल्लेख गरेका छन्।
उनका अनुसार भदौ २४ गते बिहानैदेखि सामाजिक सञ्जालमा उत्तेजक सामग्री फैलिन थालेपछि कारागार वरिपरि असामान्य गतिविधि बढेको थियो। त्यसपछि उनले प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय र सम्बन्धित निकायलाई जानकारी गराउँदै आकस्मिक सुरक्षा बैठक बोलाएका थिए। बैठकमा भीड नियन्त्रण, वैकल्पिक निकास र समग्र सुरक्षा रणनीतिबारे छलफल भएको थियो।
दिउँसो करिब १:४० बजे हजारौं प्रदर्शनकारी “रवि लामिछानेलाई छोड” भन्ने नारासहित कारागार गेटमा आक्रमणमा उत्रिएको जोशीले बताएका छन्। ढुंगामुढा र तोडफोड गर्दै भीडले करिब १० मिनेटमै मुख्य गेट तोडेर कारागारभित्र प्रवेश गरेको थियो।
घटनाका बेला कारागारभित्र १,२८१ कैदीबन्दी रहेका थिए। भीडको निशाना विशेष रूपमा रवि लामिछानेतर्फ केन्द्रित भएपछि अन्य कैदीको सुरक्षालाई ध्यानमा राख्दै उनलाई कारागारभित्रकै मनोसामाजिक अपाङ्ग वन्दी अस्पतालमा सारिएको थियो। पछि लामिछानेले भीडलाई सम्झाउने भन्दै माइक मागेपछि सुरक्षाकर्मीले उनलाई बाहिर पठाएका थिए, तर भीडले उनलाई नियन्त्रणमा लिएर बाहिर लगेको बयानमा उल्लेख छ।
त्यसपछि अवस्था झनै उग्र बन्दै गएको थियो। कारागार प्रशासनको अभिलेख कोठा तथा प्रहरी संरचनामा आगजनी भएको र सुरक्षा निकायहरू पछि हट्न बाध्य भएको जनाइएको छ। यही क्रममा जोशी र अन्य कर्मचारी अस्पताल भवनभित्र लुकेर बसेका थिए।
जोशीका अनुसार त्यही अवस्थामा आक्रोशित भीडले उनलाई ज्यानको धम्की दिँदै एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनाएको थियो। उनले उक्त पत्रबारे आफूलाई कुनै पूर्व जानकारी नभएको र अत्यन्त आतंकपूर्ण परिस्थितिमा हस्ताक्षर गराइएको हुँदा त्यसको कुनै वैधानिक मान्यता नहुने स्पष्ट पारेका छन्।
घटनाले कारागार सुरक्षा, भीड नियन्त्रण र राज्य संयन्त्रको तयारीबारे गम्भीर प्रश्न उठाएको छ। सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरेसम्म यसबारे थप तथ्यहरू आउन बाँकी रहेको बताइएको छ।





