१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरको मार्जिन कारोबार सुरु गर्न आवश्यक कार्यप्रक्रिया स्वीकृत गरेको छ। नेप्से सञ्चालक समितिको बुधबारको निर्णयसँगै केही दिनमै यो सुविधा कार्यान्वयनमा आउने तयारी भइरहेको छ।
नेप्सेले मार्जिन कारोबारको लागि लगानीकर्ता पहिचान, शाखा परीक्षण, मार्जिन कल गर्ने विधि, अवधि, सेयर बिक्री व्यवस्थासहित पूर्ण कार्यप्रक्रिया तयार गरेको छ। कार्यप्रक्रियामा मार्जिन खाता खोल्ने, सम्झौता ढाँचा, र लगानीकर्ताले मार्जिन अन्तर्गत लिएको रकम भुक्तानी गर्दा अपनाइने प्रक्रिया पनि स्पष्ट गरिएको छ।
मार्जिन कारोबार सुविधा केवल नेप्सेमा सूचीकृत कम्तीमा २५ लाख कित्ता सेयर भएका, नेटवर्थ चुक्ता पुँजी बराबर वा बढी भएको, र पछिल्लो तीन वर्षमा कम्तिमा दुई वर्ष नाफा गरेको कम्पनीका सेयरमा मात्र उपलब्ध हुनेछ। लगानीकर्ताले सुविधा उपयोग गर्न धितोपत्र दलाल कम्पनी (ब्रोकर) मार्फत मार्जिन खाता खोल्नुपर्नेछ।
कारोबार सदस्यले मार्जिन खातामा रहेका सेयरको मर्जर, एक्विजिसन वा अन्य कारणले बन्द भएमा जोखिम मूल्यांकन गरेर थप सुरक्षा माग गर्न सक्नेछन्। साथै, मार्जिन कलपछि नगद वा थप सेयर जम्मा भएको खाता मूल्य प्रारम्भिक मार्जिनभन्दा बढी भएमा लगानीकर्ताले फिर्ता लिन वा बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ।
नेप्सेले मार्जिन कारोबारको निरीक्षण र अनुगमन गर्नेछ भने धितोपत्र दलाल कम्पनीहरूले आफ्नो तर्फबाट आवश्यक तयारी पूरा गरिसकेका छन्। सागर ढकाल का अनुसार, ‘नेप्सेले निश्चित गरेपछि आवश्यक सुधार गरेर कारोबार सुरु हुनेछ।’
यो नयाँ सुविधा मार्फत लगानीकर्ताले सीमित जोखिममा पूँजी बढाउने अवसर पाउने अपेक्षा गरिएको छ।





