१४ चैत, काठमाडौं । काठमाडौंमा पछिल्लो राजनीतिक घटनाक्रमले तनाव बढाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू अहिले आन्तरिक छलफलमा जुटेका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे रणनीति बनाउन उनीहरू ठमेलस्थित एक होटलमा भेला भएका हुन्।
स्रोतका अनुसार करिब २० जना नेता सहभागी रहेको उक्त बैठकको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन्। छलफलमा डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र कृष्णप्रसाद पौडेललगायत नेताहरू सहभागी छन्।
शनिबार बिहान प्रहरीले रमेश लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई हाल महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको जनाइएको छ।
यसैबीच, प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको खबर छ। उनलाई भने स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ।
लेखकको पक्राउबारे नेपाली कांग्रेसले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन। तर, नेकपा एमालेले भने अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ।



