आर्थिक

बिदा व्यवस्थामा फेरबदलसँगै नेप्सेको कारोबार दिन परिवर्तन

२२ चैत, काठमाडौं । सरकारले आइतबार सबै सरकारी कार्यालयमा विदा दिने निर्णय गरेसँगै सेयर बजारको कारोबार तालिकामा परिवर्तन हुने भएको छ। अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार नियमित कारोबार सञ्चालन गर्नेछ भने आइतबार बजार बन्द रहनेछ।

नेप्सेका एक सञ्चालकका अनुसार सरकारको निर्णयअनुसार आइतबार बजार स्वतः बन्द हुने भएकाले त्यसको सट्टामा शुक्रबार बजार खोल्ने तयारी गरिएको हो। आवश्यक प्रक्रिया पूरा भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउने जनाइएको छ।

यसअघि २०७९ जेठ १ गतेदेखि सरकारले शनिबार र आइतबार विदा घोषणा गर्दा पनि नेप्सेले शुक्रबार बजार सञ्चालन गरेको थियो। त्यतिबेला पनि सातामा पाँच दिन नै कारोबार हुने व्यवस्था लागू गरिएको थियो।

हालसम्म सेयर बजार शुक्रबार र शनिबार बन्द रहँदै आएको थियो। नयाँ व्यवस्थापछि बजार पुनः सातामा पाँच दिन सञ्चालन हुने छ।

सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि सोअनुसार सेयर बजारको समय तालिका परिमार्जन गर्न लागिएको हो।