२७ चैत, काठमाडौं । रवि लामिछाने ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको स्पष्ट पारेका छन्। उनले बरु आगामी दिनमा विभिन्न राजनीतिक सहकार्यका सम्भावना अझै बाँकी रहेको बताएका छन्।
सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्। राप्रपाका सांसद ज्ञानेन्द्र शाही ले उपसभामुख चयन प्रक्रियामा रास्वपाबाट धोका भएको आरोप लगाएपछि लामिछानेले त्यसलाई अस्वीकार गरेका हुन्।
उनले भने, “राजनीतिक संवाद त भइरहन्छ। सम्भावनाहरू छन् भने कुराकानी किन नहोस् र? सबै दलसँग संवाद भएको छ। कहिलेकाहीँ अन्तिम समयमा निर्णय गर्दा अन्य कारकहरू पनि प्रभाव पार्न सक्छन्, त्यसलाई धोका भन्न मिल्दैन।”
लामिछानेले शाहीसँगको व्यक्तिगत सम्बन्धबारे पनि प्रष्ट पार्दै उनलाई “सधैंको साथी” भने। उनले थपे, “ज्ञानेन्द्रजी मेरो अत्यन्त राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ। राजनीतिक सहकार्य गर्ने ठाउँ अझै धेरै बाँकी छन्। एउटा माघले जाडो कहाँ जान्छ र?”
यस अभिव्यक्तिले रास्वपा र राप्रपाबीचको सम्बन्धमा दरार आएको भन्ने चर्चा भइरहेका बेला सहकार्यको सम्भावना अझै खुला रहेको संकेत गरेको छ।





