१८ वैशाख, काठमाडौं । भारतीय रुपैयाँ (भारु) कमजोर बन्दै गएसँगै नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग हालसम्मकै कमजोर अवस्थामा पुगेको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)ले डलर आपूर्ति नबढाउँदा भारुको मूल्य घटिरहेको र त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।
नेपाल र भारतबीच स्थिर विनिमय दर प्रणाली (१०० भारु बराबर १६० नेपाली रुपैयाँ) कायम रहेकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर हुने गर्छ। शुक्रबार एक अमेरिकी डलर बराबर ९४.८८ भारतीय रुपैयाँ कायम हुँदा नेपाली रुपैयाँको खरिद दर १५१.५६ र बिक्री दर १५२.१६ पुगेको छ।
विज्ञहरूका अनुसार मध्यपश्चिमको द्वन्द्व, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अमेरिकी ब्याजदरमा भएको वृद्धि तथा विश्वव्यापी आर्थिक अस्थिरताका कारण डलर बलियो बन्दै गएको छ। साथै, भारतले वैकल्पिक व्यापार रणनीति अपनाउनु र डलर आपूर्ति नबढाउनु पनि भारु कमजोर हुनुको एक कारण मानिएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार भारतीय रुपैयाँमा आएको परिवर्तनकै आधारमा नेपाली विनिमय दर निर्धारण हुने भएकाले यसको असर नेपालमा प्रत्यक्ष देखिएको हो। अप्रिल महिनामै भारतीय रुपैयाँ करिब ५.५ प्रतिशतले कमजोर भएको र ठूलो मात्रामा पूँजी अमेरिका फर्किएको उनले जानकारी दिए।
पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मध्यपश्चिम तनाव, इजरायल–इरान द्वन्द्व र आपूर्ति श्रृंखला अवरोधका कारण डलरप्रति लगानीकर्ताको आकर्षण बढेको बताए। यसले दक्षिण एसियाली मुद्राहरूमा दबाब सिर्जना गरेको उनको भनाइ छ।
नेपाली रुपैयाँ कमजोर हुँदा रेमिट्यान्स र निर्यात क्षेत्रमा केही लाभ भए पनि आयात महँगो हुने, वैदेशिक ऋण तिर्ने बोझ बढ्ने र मूल्यवृद्धि चर्किने जस्ता नकारात्मक प्रभाव देखिन सक्ने अर्थविद्हरूले बताएका छन्।





