२० वैशाख, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा अनियमितता भएको विषय उठाएकै कारण आफूलाई पदबाट हटाइएको भन्दै चितवनकी राधिका बस्नेतले स्वास्थ्य बीमा बोर्डमा उजुरी दिएकी छन्।
राधिका बस्नेत ले आफू २०७३ सालदेखि चितवनको खैरहनी नगरपालिका–४ मा स्वास्थ्य बीमा दर्ता सहयोगीका रूपमा कार्यरत रहेको र कुनै जानकारी बिना राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको दाबी गरेकी छिन्।
उनका अनुसार दर्ता प्रक्रिया, फाराम व्यवस्थापन र सेवाग्राहीसँगको व्यवहारमा अनियमितता भइरहेको विषयमा प्रश्न उठाएपछि मानसिक दबाब दिइएको र अन्ततः स्पष्टीकरण बिना पदबाट हटाइएको हो।
राधिकाले स्वास्थ्य बीमा कार्यक्रममा फाराम दर्ता गर्दा रकम माग्ने, निःशुल्क सेवाग्राहीलाई समेत प्रणालीमा गलत रूपमा देखाउने, तथा दर्ता प्रक्रियामा अनियमितता हुने गरेको आरोपसमेत लगाएकी छिन्।
यता जिल्ला सम्पर्क शाखा कार्यालय चितवनले भने कार्यसम्पादनमा समस्या देखिएकै कारण उनलाई हटाइएको दाबी गरेको छ। दर्ता अधिकारीका अनुसार फाराम समयमै नबुझाउने, आर्थिक मिलान नगर्ने र हिसाबमा त्रुटि देखिएपछि पटक–पटक सचेत गराइएको थियो।
कार्यालयका अनुसार अन्तिम हिसाब मिलान गर्दा समेत रकम कमी देखिएको र रसिदको दुरुपयोगसमेत भेटिएको थियो। सोही कारण प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।
यसैबीच, स्वास्थ्य बीमा बोर्ड ले यस विषयमा औपचारिक निर्णय लिन समय लाग्ने जनाएको छ। बोर्डका अनुसार दर्ता सहयोगी नियुक्ति र हटाउने अधिकार सम्बन्धित वडामा रहने भएकाले सबै विवरण आएपछि मात्र निर्णय प्रक्रिया अघि बढ्नेछ।
बोर्डले हाल कार्यकारी निर्देशक नहुँदा औपचारिक निर्णय प्रक्रिया अघि बढ्न नसकेको पनि जनाएको छ। राधिकाले भने घटनाको निष्पक्ष छानबिन गरी आफूलाई पुनः काममा फर्काउने व्यवस्था गर्न माग गरेकी छन्।





