२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडी डिलासैनी–३ घर भई हाल कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलाली बर्दगोरिया–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी रहेका छन्।
उनीहरूमाथि गुल्मी धुर्कोट गाउँपालिकाका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप लागेको छ। घटना कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो करिब साढे २ बजे भएको हो।
प्रहरीका अनुसार साथी–साथीबीच भएको झगडाका क्रममा घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उद्धार गरी कीर्तिपुर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





