३० बैसाख, काठमाडौं । प्रमुख कार्यकारी अधिकृत ज्याेती प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैँकले ध्यानाकर्षण भएको जनाएको छ ।
बैकले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्यूरोको मिति २०८३/०१/३० को प्रेस बिज्ञप्ती अनुसार यस बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई ऋणी स्मार्ट टेलिकम प्रा.लि. कोे सम्पत्ति लिलाम बिक्री गरेको आरोप तथा लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरण लगायतका सामाग्रीहरु जडान भएका घर–जग्गा धनीहरुलाई स्मार्ट टेलिकमले बुझाउन पर्ने बाँकी घर वाहाल र विद्युत महशुल हालसम्म भुक्तान नभएको सम्बन्धमा अनुसन्धानको लागि नियन्त्रणमा लिइएको सन्दर्भमा विभिन्न सन्चार माध्ययममा प्रकाशित सामाग्री प्रति यस बैंकको ध्यानाकर्षण भएको छ ।’
बैंकले स्पष्ट गरेको छ, ‘बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने प्रचलित ऐन/कानून, विशेष गरी बंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ एवं सुरक्षित कारोबार ऐन २०६३ ले दिएको अधिकार तथा यस बैंकको कर्जा असूली निर्देशिकाको पूर्ण रुपमा पालना गर्दै निक्षेपकर्ताहरुको निक्षेपबाट प्रवाह भएको कर्जा असूली गर्नु पर्ने कानूनी दायित्व तथा जिम्मेवारी अन्तर्गत रही बैंकले कर्जा असूली प्रकृया अनुसार उक्त कारबाहि अघि बढाएको व्यहोरा जानकारी गराउँदछौं ।’
बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग शेयरधनी एवं नेपाल राष्ट्र बैंकबाट प्राप्त हुँदै आएको निरन्तर सहयोग, सद्भाव र विश्वास प्रति बैंक हार्दिक आभार व्यक्त गर्दै बैंकले थपेको छ, ‘‘यस सम्बन्धमा सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग अनुसन्धान प्रयोजनका लागि बैंकले समयमानै उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । यस बैंकले मिति २०८२/०६/०३ मा ऋणी स्मार्ट टेलिकम प्रा.लि. संग सम्बन्धित विभिन्न उपकरण लगायतका सामाग्रीहरु लिलामीको सूचना प्रकाशित गरी सोही सूचना बमोजिम लिलाम बिक्री भई प्राप्त भएको कूल रु ४ अर्ब ६० करोड बाट रु ४ अर्ब २२ करोड सहवित्तीयकरणको कर्जा सूविधा चुक्ता भुक्तान भई सम्बन्धित निकायबाट खाता रोक्का रहेको कारणले बाँकी रकम रु ३८ करोड यस बैंकको Earnest Money Auction Account मा बाँकी रहेको व्यहोरा जानकारी गराउँदछौं । सो रकम दूरसञ्चार सेवा सँग सम्बन्धित विभिन्न उपकरण लगायत सामाग्रीहरु जडान भएका घर–जग्गा धनीहरुलाई उक्त ऋणीले तिर्न बाँकी बहाल, विद्युत महशुल लगायतका रकम भुक्तानी गर्नेे प्रयोजनको लागि रोक्का गरिएको र सो रकम सम्बन्धित निकायबाट प्रमाण सहित भूक्तानीको लागि अनुरोध आए पश्चात सोही अनुरुप क्रमिक रुपमा भुक्तानी गरिने व्यहोरा समेत जानकारी गराइन्छ । उक्त अनुसन्धान प्रकृयाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने बिषयमा बैंकले सम्पूर्ण सरोकारवालालाई पूर्ण रुपमा विश्वस्त गराउन चाहन्छ । साथै, बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग शेयरधनी एवं नेपाल राष्ट्र बैंकबाट प्राप्त हुँदै आएको निरन्तर सहयोग, सद्भाव र विश्वास प्रति बैंक हार्दिक आभार व्यक्त गर्दछ ।’
आजमात्र प्रहरीले स्मार्ट टेलिकमको घोटालासँग जोडेर उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई पक्राउ गरेको हो । उक्त पक्राउपछि बैंकले विज्ञप्ती प्रकाशित गरेको हो ।”





