७ जेठ, काठमाडौं । अघिल्लो दिनको वृद्धि पछि सेयर बजार बिहीबार सामान्य गिरावटमा देखिएको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ अंकमा कायम भएको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड पुगेको छ । दिनभर बजार अधिकांश समय रातो सूचकमा रहेको थियो ।
आज ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर रहेका छन् । सबै समूहगत सूचकहरू पनि सामान्य रूपमा घटेका छन्, यद्यपि गिरावट १ प्रतिशतभन्दा कम रहेको छ ।
बिहीबार बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ भने अपर लोहोरेखोलाको मूल्य १४.९५ प्रतिशतले घटेको छ । त्यस्तै झापा इनर्जी, माउन्टेन हाइड्रो नेपाल र सिटी होटलका सेयरमा पनि गिरावट देखिएको छ ।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स रहेका छन् ।





