समाचार

दिल्लीमा रविको स्वागत गर्न विमानस्थलमै पुगे भाजपा नेताहरू

१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भएको भ्रमणका क्रममा उनलाई दिल्ली विमानस्थलमा भाजपा महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।

लामिछानेसँगै रास्वपाका केही सांसद तथा पार्टी पदाधिकारीहरू पनि भारत भ्रमणमा सहभागी छन्। भ्रमण अवधिमा उनले भाजपा नेतृत्वसँग राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुका साथै भारतस्थित नेपाली समुदाय र शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ।

रास्वपाका अनुसार भ्रमणको क्रममा लामिछानेले नयाँदिल्लीपछि अयोध्याको समेत भ्रमण गर्नेछन्। भ्रमणका आवश्यक समन्वयहरू नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भइरहेको जनाइएको छ।