१९ जेठ, काठमाडौं । अघिल्लो कारोबार दिनको गिरावटपछि मंगलबार नेपाली सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.२१ अंकले बढेर २७७७ अंकमा पुगेको हो।
कारोबारको सुरुवाती समयमा बजारमा सामान्य उतारचढाव देखिए पनि मध्याह्नपछि खरिदकर्ताको सक्रियता बढेसँगै बजारले उकालो यात्रा तय गरेको थियो। दिनभरको कारोबारमा १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
यस दिन कुल ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटे पनि बजारको समग्र प्रवृत्ति सकारात्मक देखिएको हो।
समूहगत सूचकतर्फ फाइनान्स क्षेत्र सबैभन्दा आकर्षक रह्यो। फाइनान्स समूहको सूचक ६.०३ प्रतिशतले बढ्दा यस क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखियो। उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै उपसूचक हरियालीमा रहे। उत्पादन समूहको सूचक भने ०.४२ प्रतिशतले घटेको छ।
अन्य समूहको सूचक ३.८४ प्रतिशतले बढेको छ। नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सजस्ता ठूला कम्पनीको मूल्यमा आएको वृद्धिले उक्त समूहलाई बलियो बनाएको देखिएको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा व्यापार समूहका सूचकहरू पनि बढेका छन्।
व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ। त्यसपछि सेन्ट्रल फाइनान्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स, गुडविल फाइनान्स र मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
यता, बुंगल हाइड्रोपावर, झापा इनर्जी तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेका छन्। बजारमा देखिएको सुधारले लगानीकर्ताको मनोबल केही बलियो बनेको संकेत गरेको छ।





