ब्रेकिङ न्युज

नेपालको औद्योगिक क्षेत्र किन सुस्त ?

३१ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको लगानी करिब १८ खर्ब रुपैयाँ पुगे पनि उद्योगहरूको उत्पादन क्षमता भने आधाभन्दा कम मात्रै उपयोग भइरहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको अर्धवार्षिक अध्ययनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म उद्योगहरूको औसत क्षमता उपयोग केवल ४२.११ प्रतिशत रहेको छ।

गत पुससम्म औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ७.९९ प्रतिशतले बढेर १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यो कुल बैंक कर्जाको करिब ३०.८२ प्रतिशत हिस्सा हो।

यस अवधिमा देशभर ४६१ नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगमा ५५ अर्ब ८३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव गरिएको छ भने करिब २२ हजार ८८५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

उद्योगगत रूपमा गार्मेन्ट उद्योगले सबैभन्दा बढी ९५.७४ प्रतिशत क्षमता उपयोग गरेको छ। त्यसपछि अन्य कपडा उद्योग, जलविद्युत, टायर तथा ट्युब र चाउचाउ उद्योगको क्षमता उपयोग उल्लेख्य देखिएको छ। तर इट्टा, चुरोट, जीआई पाइप, वनस्पति घिउ, चप्पल, कागज, गहुँको पिठो, प्रशोधित दूधलगायत उद्योगहरूको क्षमता उपयोग घटेको अध्ययनले देखाएको छ।

प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग सबैभन्दा बढी ५०.४४ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३०.८२ प्रतिशत मात्रै छ। बैंकको औद्योगिक कर्जामध्ये करिब ७२ प्रतिशत लगानी बागमती प्रदेशमै केन्द्रित रहेको अध्ययनले उल्लेख गरेको छ।

राष्ट्र बैंकले जलविद्युत, सूचना प्रविधि, विशेष आर्थिक क्षेत्र, औद्योगिक ग्राम र कृषि–आधारित उद्योगमा ठूलो सम्भावना रहेको औंल्याएको छ। तर उत्पादन लागत घटाउने, उद्योगलाई प्रतिस्पर्धी बनाउने, पारदर्शी व्यावसायिक वातावरण सिर्जना गर्ने र लगानीलाई उत्पादनसँग जोड्ने चुनौती अझै कायम रहेको निष्कर्ष अध्ययनले निकालेको छ।