३१ जेठ, काठमाडौं । सरकारले अध्यागमन सम्बन्धी कानुनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग सुझाव मागेको छ। प्रस्तावित व्यवस्थाअनुसार शंकास्पद राहदानी, भिसा वा यात्रा कागजात बोकेका विदेशीलाई अध्यागमन जाँच बिन्दुमै नेपाल प्रवेश गर्न रोक लगाउन सकिनेछ।
गृह मन्त्रालयले तयार पारेको मस्यौदामा विदेशी नागरिकको नेपाल प्रवेश, बसाइ र प्रस्थानसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार नेपाल सरकारमै रहने व्यवस्था गरिएको छ।
मस्यौदाअनुसार नेपाल प्रवेश गर्न चाहने विदेशीसँग सम्बन्धित देशको वैध राहदानी र नेपालको भिसा अनिवार्य हुनुपर्नेछ। दुई देशबीच भएको विशेष सम्झौताका आधारमा भने तोकिएका कागजातका आधारमा प्रवेशको सुविधा दिन सकिने व्यवस्था पनि राखिएको छ।
यस्तै, अध्यागमन अधिकृतलाई राहदानी, भिसा वा अन्य यात्रा कागजात शंकास्पद वा अवैध देखिएमा जाँच बिन्दुमै भिसा दिन अस्वीकार गर्ने तथा नेपाल प्रवेश रोक्ने अधिकार प्रस्ताव गरिएको छ।
गृह मन्त्रालयले अध्यागमन व्यवस्थापनलाई थप सुरक्षित, व्यवस्थित र कानुनी रूपमा प्रभावकारी बनाउने उद्देश्यले विधेयकको मस्यौदा तयार गरिएको जनाएको छ।





