ब्रेकिङ न्युज

६ करोडभन्दा बढी भ्रष्टाचार आरोपमा नागरिक उड्डयन प्राधिकरणका  पूर्वमहानिर्देशक गौतम जेल चलान

२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा गौतमलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा बराबरको बिगो असुल गरी कानुनबमोजिम सजायको मागसहित मुद्दा दायर गरेको थियो।

अदालतले अन्तिम फैसला नभएसम्म ठहरेबमोजिम हुने गरी गौतमलाई कारागारमा राख्न आदेश दिएको हो। यही मुद्दामा मुछिएका तत्कालीन निर्देशक प्रदीप अधिकारीलाई भने यसअघि नै पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ।