खेलकुद

अस्ट्रेलियालाई हराउँदै अमेरिका नकाउट चरणमा

६ असार, काठमाडौं । फिफा विश्वकप २०२६मा अमेरिका अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ ।

अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो ।

विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गर्‍यो । खेल सुरुवाती ११औँ मिनेटमा अस्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता दिलाए ।

अस्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोल पोस्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त भयो ।

त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अस्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो ।

यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ ।